निजगढ नगरपालिका र चितवनको कालिका  नगरपालिकाबीच स्थानीय तहको न्यायिक समिति र मेलमिलाप प्रक्रियासम्बन्धी असल अभ्यास साटासाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। कालिका नगरपालिकाको न्यायिक समिति र मेलमिलापकर्ताको टोली पूर्वी नेपालको विभिन्न जिल्लामा अध्ययन अवलोकन भ्रमण अन्तर्गत निजगढ पुगेको थियो । सोही अवसरमा असल अभ्यास साटासाट कार्यक्रम भएको हो ।

निजगढ नगरपालिकामा कालिका नगरपालिकाबाट आएको भ्रमण टोलीलाई विशेष सम्मानका साथ खादा लगाएर स्वागत गरिएको थियो। त्यसपछि उपहार आदानप्रदान कार्यक्रम सम्पन्न भएको थियो, जसले दुई नगरपालिकाबीच आपसी सहकार्य र सद्भावलाई अझ सुदृढ बनाएको सहभागीहरूको भनाइ थियो।

कालिका नगरपालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालले आफ्ना पालिकामा अभ्यास गरिएका विभिन्न असल अभ्यासबारे जानकारीमूलक प्रस्तुति दिएका थिए। उनले न्यायिक समिति, मेलमिलाप प्रक्रिया र सेवा प्रवाहका प्रभावकारी उपायहरूबारे अनुभव साटेका थिए।

कार्यक्रमका विशेष वक्ताका रूपमा कालिका नगरपालिकाकी उपप्रमुख बिमला तामाङले न्यायिक समिति र मेलमिलाप प्रक्रियाका काम, चुनौती र उपलब्धिबारे सविस्तार चर्चा गरिन्।

यस क्रममा भ्रमण टोलीले निजगढ नगरपालिकाको न्यायिक ईजलासको पनि अवलोकन गरेको थियो। कार्यक्रमको समापनमा निजगढ नगरपालिकाकी उपप्रमुख सोम माया थिङ्गले निजगढको न्यायिक क्षेत्रका गतिविधिहरू, असल अभ्यासहरू तथा भावी योजनाहरूबारे जानकारी दिँदै सहभागिता र अनुभव साटासाटको महत्वलाई जोड दिइन्।

यस कार्यक्रमले दुई नगरपालिकाबीचको अनुभव र ज्ञानको आदानप्रदानलाई संस्थागत बनाउने दिशामा सकारात्मक संकेत दिएको कालिकाका वरिष्ठ लेखा अधिकृत ऋषि प्रसाद कडुवालले बताए ।

कार्यक्रम निजगढ नगरपालिकाकी उपप्रमुख सोम माया थिङ्गको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्यसहित निजगढ नगरपालिकाको समग्र बारेमा योजना शाखा प्रमुख अजय उप्रेतीले जानकारी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय