बाराको निजगढ–५ बागदेवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालयले निजगढ नगरपालिकाका योजना शाखा प्रमुख जीवन गौतमलाई सम्मान गरेको छ।
विद्यालयको ६१औँ जन्मोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रममा ‘पूर्व विद्यार्थी सम्मान’ शीर्षक अन्तर्गत गौतमलाई सम्मान गरिएको हो। कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम तथा प्रधानाध्यापक हस्तबहादुर लामाले सम्मानपत्र सहितले गौतमलाई सम्मान गर्नुभएको थियो। 


सम्मान ग्रहणपछि पूर्व विद्यार्थीसमेत रहेका गौतमले विद्यालयप्रति आभार व्यक्त गर्दै यस सम्मानले आफूलाई थप जिम्मेवार र प्रेरित बनाएको सामाजिक संजालमा प्रतिक्रिया दिएका छन्। उनले कक्षा २ देखि १० सम्म अध्ययन गरेको विद्यालयबाटै हासिल गरेको शिक्षाका आधारमा आज नेपाल सरकारको अधिकृतस्तरको जिम्मेवारीमा रहेर काम गर्न पाउँदा गर्व लागेको उल्लेख गरे। सो अवसरमा उनले सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति पनि साझा गरेका छन्।
कार्यक्रमलाई थप विशेष बनाउँदै संयोगवश सोही अवसरमा गौतमकी छोरी जानवी गौतमले ‘सरसफाइमा उत्कृष्ट विद्यार्थी’ शीर्षकमा सम्मान प्राप्त गरिन्। बाबु–छोरी एकै कार्यक्रममा सम्मानित हुँदा उपस्थितहरू भावुक बनेका थिए। उनले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सधैँ रचनात्मक सुझाव, साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गर्दै विद्यालय परिवारप्रति आभार प्रकट गरेका छन्।
