निजगढ ६ सडकटोलमा यहि माघ २१ गतेदेखि आयोजना हुने श्रीकृष्ण प्रणामी धर्म महामहोत्सव–२०८२ को उद्धाटन भारतका धर्माचार्य श्रीकृष्णमणीजी महाराजले गर्नुहुने भएको छ।
महोत्सव आयोजक मूल समारोह समितिले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत अपराह्न १२ बजेर ४५ मिनेटमा महोत्सवको औपचारिक उद्धाटन हुने जानकारी दिएको हो। मूल समारोह समितिका संयोजक साहित्याचार्य जनार्दन महाराजका अनुसार उद्धाटनअघिनै कृष्णमणीजी महाराजले ताम्रपत्र र कलश अनावरण, झण्डोत्तोलन, धार्मिक विरुवा ‘खिजडा’ रोपण लगायत श्रीकृष्ण प्रणामी मन्दिरको उद्धाटन गर्ने कार्यक्रम तय गरिएको छ।


महामहोत्सवमा कृष्णमणीजी महाराजसहित महामंगलपुरीधाम सूरजका सूर्यनारायण दासजी तथा मंगलपुरीधाम सिक्कीमका श्री ५ भाष्कर महन्तश्रीको समेत सहभागिता रहने मूल समारोह समितिले जनाएको छ। उहाँ भारतीय आर्यन समाजका उपाध्यक्षसमेत हुनुहुन्छ।
कृष्णमणीजी महाराज माघ २० गते निजगढ आइपुग्नुहुने कार्यक्रम रहेको समितिले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा मूल समारोह समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाले महोत्सवको सुरक्षा तयारीबारे जानकारी गराउनुभएको थियो। सो अवसरमा कृपासिन्धु गुरुकुलकी विदुषी उषा घिमिरे, समितिका पदाधिकारी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण समितिका महासचिव प्रकाश सापकोटाले गर्नुभएको थियो।
