बाराको निजगढ नगरपालिकाले आवाधिक नगर विकास योजना निर्माण गर्ने भएको छ । आवाधिक योजना तयार पार्ने क्रममा हिजो नगरपालिका कार्यालयमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । गभर्नेन्स एण्ड डिजाइन सोलुशनका कार्यकारी निर्देशक विके महर्जन र अर्का विज्ञ बन्दुबाबु अधिकारीले आवधिक योजनाको महत्व, आवश्यकता र निर्माण प्रकृयाको बारेमा सहभागीहरुलाई जानकारी गराउनुभएको थियो ।
आवधिक योजना निर्माण भएपछि विकास निर्माण कार्य प्रभावकारीरुपमा संचालन गर्न सकिने र परिणाममुखी हुने निर्देशक महर्जनले जानकारी दिनुभयो । नगरपालिकामा योजनावद्ध र प्रभावकारीरुपमा विकास निर्माणका कार्य संचालन गर्न गभर्नेन्स एण्ड डिजाइन सोलुशन काठमाण्डौंको सहयोगमा नगरपालिकाले आवधिक योजना निर्माण गर्न लागेको नगर प्रमुख सुरथ पुरीले बताउनुभएको छ । ठोस योजनाको अभावमा विकास कार्य उपलब्धिमूलक हुन नसकेको बताउदै आवधिक योजना तयार भएपछि लक्ष्यअनुसार काम गर्न सकिने उहाँको भनाइ छ ।
सोही कार्यक्रममा आवधिक योजना तयार पार्ने क्रममा संचालन हुने क्रियाकलापहरुको समयसीमासमेत निर्धारण गरिएको छ । जसअनुसार चैत्र मसान्तभित्र नगरको पाश्वचित्र तयार पर्ने, चैत्र १६ गतेदेखि ३० गतेसम्म वडास्तरीय अन्तरक्रिया आयोजना गर्ने, आगामी बैशाख ५ देखि ८ गतेसम्म नगरस्तरीय कार्यशाला गोष्ठी तथा बैशाख मसान्तसम्ममा योजनाको मस्यौदा लेखन पुरा गर्ने र जेष्ठ १० गतेभित्र दस्तावेजलाई अन्तिम रुप दिने बताइएको छ । कार्यक्रममा नगर प्रमुख पुरी, उपप्रमुख सोममाया थिङ्ग, कार्यपालिका सदस्यहरु, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा राजश्व सुधार कार्ययोजना र मध्यमकालीन खर्च संरचना तर्जुमाको बारेमा पनि जानकारी दिइएको थियो ।