केराको थम्बाबाट उपयोगी सामानहरु निर्माण गरेर बिक्री गर्न सकिने बारेमा निजगढ नगरपालिकामा छलफल भएको छ ।
छलफल कार्यक्रममा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीका प्रतिनिधि धनबहाअदुर चन्दले केराको थम्बाको रेसाबाट धागो बनाएर गुणस्तरीय कपडा र अन्य घरायसी समाग्रीहरु निर्माण गर्न सकिने भएकोले सो बारेमा निजगढका किसानहरुसंग छलफल कार्यक्रमको आयोजना गरिएको बताउनुभयोे । उहाँले सघनरुपमा केरा खेति हुने क्षेत्रमध्ये निजगढ पनि भएको र खेर जाने केराको थम्बाबाट उपयोगी सामान निर्माण गरेर किसानलाई लाभान्वित बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा युएनडिपीकी पुर्णिामा बज्राचार्यले थम्बाबाट सामान निर्माण गर्ने बारेमा गरिएको अध्ययनको रिपोर्ट प्रस्तुत गर्नुभएको थियो । उहाँले भारतको केरला र अन्य राज्यहरुमा किसानले केराको थम्बाबाट सामग्रीहरु निर्माण गरेर राम्रो आम्दानी लिएको जानकारी दिनुभयो । उहाँले निजगढका किसानले केराको रेसाबाट उत्पादन गरेको धागोको बजार बारेमा पनि थप अध्ययन गरिने बताउनुभयो । उहाका अनुसार वीरगन्जका कपडा उद्योगीहरुसंग छलफल गरेर बजारको अवस्था बारे अध्ययन गरिने छ ।
निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीको अध्यक्षतमा भएको सो कार्यक्रमको संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपीको आयोजनामा भएको हो । कार्यक्रममा हेल्भेटासका हरि गुरुङ्गले आफूहरुले पनि निजगढका किसानको केराको थम्बाबाट सामाग्री बनाउने बारेमा काम गरिरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले किसानको आयआर्जन वृद्धि हुने कार्यक्रम संचालन गर्ने बारेमा नगरपालिका सदैव सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रमको सन्चालन निजगढ नगरपालिकाको सुचना अधकारी रविन घिमिरेले गर्नु भएको थियो ।