
निजगढ ६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्थाले किसानहरुलाई पशु आहारको बारेमा प्रशिक्षण दिएको छ ।
संस्थाले आयोजना गरेको मधेस प्रदेश स्तरीय दुधालु पशु आहार व्यवस्थापन सम्बन्धि ५ दिने तालिममा राष्ट्रिय गाई अनुसन्धान कार्यक्रम रामपुर चितवनका वैज्ञानिक डाक्टर उद्धब पनेरुले किसानहरुलाई पशु आहारको बारेमा प्रशिक्षण दिनुभएको हो । तालिमको चौंथों दिन डाक्टर पनेरुले हिजो किसानले पालेका दुधालु गाई र भैसीको गोठ तथा आहारको व्यवस्थापन गरेर दुधको उत्पादन बढाउन सकिने उपायहरुको बारेमा किसानहरुलाई जानकारी गराउनुभएको थियो ।
तालिममा बारा र रौतहट जिल्लाका विभिन्न पालिकाका २० जना पशुपालक किसानहरुको सहभागिता रहेको छ । गाई र भौसीको दुधको उत्पादन बढाएर पशुपालक किसानहरुको जीवनस्तर माथि उकास्ने उद्देश्यले तालिमको आयोजना गरिएको दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटाले जानकारी दिनुभयो । राष्ट्रिय दुग्ध विकास बोर्ड काठमाण्डौं र सजल डेरीको सहयोगमा तालिम आयोजना गरिएको हो । तालिमको आज निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरीले सहभागीहरुलाई प्रमाणपत्र वितरण र कार्यक्रम समापन गर्ने कार्यक्रम रहेको अध्यक्ष सापकोटाले जानकारी दिनुभयो ।