कोरियाका प्रवासी नेपाली कामदारहरुको परिवारका सदस्यहरुको लागि निजगढमा हिजो अंकुर नेपालको सहकार्यमा वित्तीय साक्षरता तालिम कार्यक्रम आयोजना गरिएको छ ।
कोरियन अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) अन्तर्गत के– हामी, ह्याप्पी माइग्रेशन परियोजनाको सहयोगमा अङ्कुर नेपालले मधेस प्रदेशका विभिन्न जिल्लाबाट इपिएस रोजगारीको क्रममा कोरियामा रहेका नेपाली श्रमिक परिवारका ५५ जना सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पुरीले वैदेशिक रोजगारीमा गएकाहरुले आफन्तलाई पठाएको रकम उत्पादनमूलक कार्यमा मात्र खर्च गरिनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रमका नेपाल बैङ्ग लिमिटेडका निजगढ शाखाका सहायक प्रमुख हरिप्रसाद उपाध्ययाले सहभागीहरुलाई वित्तीय साक्षरताका विभिन्न पक्षबारे जानकारी गराउनुभएको थियो । सहभागीहरुलाई आफ्ना आफन्तले कोरियामा श्रम गरेर पठाएको रकमको सदुपयोग, खर्च व्यवस्थापन र दीर्घकालीन आर्थिक स्थायित्वका लागि नेपालमा बस्ने परिवारका सदस्यहरुले अपनाउनुपर्ने आवश्यक ज्ञान र सीपबारे उहाँले जानकारी प्रदान गर्नुभएको थियो । त्यसैगरी कार्यक्रमका संयोजक राजु चौलागाईले कोरिया आप्रवासी कामदारका अभिभावक र आफन्तको दायित्व र जिम्मेवारी बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा कोरिया रिटर्नी छुटुप लामा र नवराज चौलागाईले कोरियाबाट नेपाल फर्किएपछि शुरु गरेको व्यवसायमा आधारित ‘सफलताको कथा’ सुनाउनुभएको थियो । अंकुर नेपालका सचिव खेम कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रमको निजगढ नगरपालिका नगर प्रमुख सुरथ पुरीले उद्धाटन गर्नुभएको थियो । निजगढको होटल राजमार्गमा भएको सो कार्यक्रममा रिटर्नी फेडेरेशन नेपाल मधेस प्रदेश अध्यक्ष दिपक श्रेष्ठ, रटर्नी फेडेरेशन नेपालका पूर्व केन्द्रीय उपाध्यक्ष रामकृष्ण घिमिरे, वडा नम्बर ३ का वडा अध्यक्ष गोकुल तिमल्सिना, वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा र वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामालगायतको सहभागिता रहेको थियो । अंकुर नेपाल, दक्षिण कोरियामा विभिन्न पेशा व्यवसायमा संलग्न भई नेपाल फर्किएर स्वदेशमै बस्न चाहने नेपालीहरुलाई एकताबद्ध गर्दै सहयोग आदनप्रदान लगायत सामाजिक, व्यवसायिक तथा आर्थिक रुपमा पुनःस्थापित हुन सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको संस्था हो ।
