निजगढ–९, बारा स्थित गौरीशंकर क्याम्पसको वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ्गले मुख्य ब्यानर वाचन तथा गमलामा पानी हालेर गर्नुभएको थियो। वार्षिकोत्सव कार्यक्रममा क्याम्पसका प्राध्यापक जीवन काफ्लेले शैक्षिक प्रगतिबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखापाल दीपक श्रेष्ठले क्याम्पसको आर्थिक अवस्थाबारे जानकारी गराउनुभएको थियो ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष एकबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले निजगढ नगर सचिव थानेश्वर सापकोटा ‘अविरल’, नेपाली कम्युनिष्ट पार्टीका नगर अध्यक्ष सन्तोष दङ्गाल, जनमत पार्टीका मोजहर मन्सुर, क्याम्पस स्ववियु सभापति बालकृष्ण हुमागाँई, पूर्वविद्यार्थी संघका संयोजक केदार खरेल तथा प्राध्यापक गोविन्द अधिकारीलगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो। अधिकांश वक्ताहरूले क्याम्पसको अवस्था कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै सुधारका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताएका थिए।

त्यसैगरी मधेस विश्वविद्यालय वीरगञ्जका डिन तथा शिक्षा विज्ञ अञ्जन मिश्रले क्याम्पसको शैक्षिक गुणस्तर सुधारका लागि आवश्यक सुझावहरू प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा शिक्षासेवी पद्मबहादुर भण्डारी र किरण श्रेष्ठद्वारा स्थापना गरिएको अक्षयकोषको रकमबाट ०८१ सालको परीक्षामा उत्कृष्ट अंकसहित उत्तीर्ण व्यवस्थापन संकायकी छात्रा अर्चना बडाललाई पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो।

साथै, क्याम्पसका चन्दादाताहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै वार्षिकोत्सवको अवसरमा आयोजित अतिरिक्त क्रियाकलापमा विजयी विद्यार्थीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा विद्यार्थीहरूले चेतनामूलक नाटक, गीत तथा नृत्य प्रस्तुत गरेका थिए।

प्राध्यापक सागर दहालले सञ्चालन गर्नुभएको कार्यक्रममा क्याम्पस प्रमुख भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय