निजगढ नगरपालिका–६, सडकटोलमा रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयले आफ्नो ५२औँ जन्मजयन्ती तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा शिक्षा, राजनीति र समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
जन्मजयन्ती समारोहको उद्घाटन बारा क्षेत्र नं. १ (क) का प्रदेशसभा सदस्य त्रिलोकीप्रसाद चौधरीले पानसमा दीप प्रज्वलन गरी गरेका हुन्। उद्घाटन सत्रमा बोल्दै वक्ताहरूले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि स्थानीय सरकार, अभिभावक र समुदायबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।


कार्यक्रममा निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी, उप-प्रमुख सोममाया थिङ, गौरी शंकर मा.वि. निजगढ ८ विद्यालयका प्रधानाध्यापक बद्रीनारायण झा, जिल्ला शिक्षा तथा समन्वय इकाइ बाराका प्रमुख अशोक रौनियारलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको समग्र विकासमा सबै पक्षको साझा भूमिका हुनुपर्ने धारणा राखेका थिए।
समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, शैक्षिक संस्था, सामुदायिक वन, सहकारी, अक्षयकोषका प्रतिनिधि, पूर्व तथा वर्तमान विद्यालय व्यवस्थापन समिति सदस्य, शिक्षक, अभिभावक, विद्यार्थी र समाजसेवीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमका क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर सापकोटाले विद्यालयको शैक्षिक तथा भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने शिक्षक सन्तोष बन्जाराले आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरण सार्वजनिक गरेका थिए। भौतिक संरचनासम्बन्धी प्रतिवेदन व्यवस्थापन समिति सदस्य पूर्णबहादुर खड्काले प्रस्तुत गरेका थिए।
जन्मजयन्तीको अवसरमा विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै विभिन्न खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। साथै, विभिन्न अक्षयकोषबाट लाभान्वित विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको विद्यालयले जनाएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष थानेश्वर सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य मधु तिमल्सिनाले राखेका थिए भने कार्यक्रमको सञ्चालन शिक्षक बोधदिप तिमल्सिनाले गरेका थिए।
