निजगढ, बारा । अत्यधिक चिसो बढ्दै गएपछि निजगढ नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप विदा दिने निर्णय गरेको छ।
निजगढ नगर कार्यपालिकाको कार्यालय, निजगढ बाराले जारी गरेको सूचनाअनुसार पछिल्ला केही दिनदेखि बढेको अत्यधिक चिसोका कारण विद्यालयहरूमा नियमित पठनपाठन कार्यमा कठिनाइ आएको र यसले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने देखिएपछि उक्त निर्णय लिइएको हो।
यसअघि मिति २०८१ पुस ९ गतेदेखि २०८१ पुस ११ गतेसम्म विदा दिइएकोमा चिसो अझै बढेकाले पुनः मिति २०८१ पुस १३ गतेदेखि २०८१ पुस १४ गतेसम्म थप विदा दिइने नगरपालिकाले जनाएको छ। विद्यालयको वार्षिक विदासँग मिलान हुने गरी थप विदा प्रदान गरिएको निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतमले जानकारी दिनुभयो ।


नगरपालिकाले सम्बन्धित सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई यस निर्णयबारे जानकारी गराउँदै कार्यान्वयन गर्न र चिसोमा आफुसंगै नानीवाबुलाई न्यानोमा बस्न अनुरोध गरेको छ।
