छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, निजगढ शाखाको आयोजनामा निजगढमा महिलाहरुका लागि सञ्चालन गरिएको केराका परिकार तयार गर्ने तीनदिने सीपमूलक तालिम बुधबार सम्पन्न भएको छ।

निजगढ नगरपालिका–९ स्थित गौरीशंकर क्याम्पसको हलमा सम्पन्न तालिममा छिमेक लघुवित्तमा आबद्ध ३० जना महिला सदस्यहरुको सहभागिता रहेको थियो।
तालिमका क्रममा प्रशिक्षक भरत घिमिरेले केराको म:म, केराको फ्रेन्च फ्राइज, अचार, चिप्सलगायत विभिन्न परिकार तयार गर्ने व्यवहारिक तथा व्यवसायिक सीप प्रदान गर्नुभएको थियो। तालिमलाई उपयोगी र व्यवहारमा आधारित रहेको बताउँदै सहभागी महिलाहरुले यस्ता तालिमले आयआर्जनका नयाँ अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रशिक्षक घिमिरेले तालिममा सहभागी महिलाहरुको सक्रियता, सिकाइप्रतिको उत्साह र रुचि प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।


कार्यक्रमका अवसरमा छिमेक लघुवित्त निजगढ शाखा प्रमुख रामरतन बछारले निजगढ नगरपालिका क्षेत्रमा केराको खेती व्यापक भए पनि त्यसको उचित उपयोग र मूल्य अभिवृद्धि गर्ने सीपको अभावमा किसान तथा उत्पादकहरुले अपेक्षित फाइदा लिन नसकिरहेको बताउनुभयो। यस्ता सीपमूलक तालिमले स्थानीय महिलाहरुलाई स्वरोजगार र उद्यमशीलतर्फ उन्मुख गराउने उहाँको भनाइ थियो।
महिलाहरुलाई समूहमा आबद्ध गराई बचत संकलन र लगानीमार्फत आर्थिक सशक्तीकरण गर्दै आएको छिमेक लघुवित्तले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सीपमूलक तालिम, सुत्केरी भत्ता वितरण, सर्पदंशका बिरामीको उपचार खर्च सहयोग तथा दैविक प्रकोपमा परेका सदस्यहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय