निजगढ नगरपालिकाले माघे संक्रान्ति, मकर संक्रान्ति तथा माघी पर्व–२०८२ को अवसरमा नगरवासीसहित स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।
नगरपालिकाद्वारा जारी शुभकामना सन्देशमा प्रत्येक वर्ष माघ १ गते मनाइने माघे संक्रान्ति/मकर संक्रान्ति/माघी पर्व नेपाली धर्म, संस्कृति र संस्कृतिसँग जोडिएको महत्वपूर्ण चाडका रूपमा रहेको उल्लेख गरिएको छ। यस अवसरमा सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरिएको छ।
शुभकामना सन्देशमा बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस्ता चाडपर्वहरूले संस्कृतिको जगेर्ना गर्दै सामाजिक सद्भाव र सांस्कृतिक सहअस्तित्व अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको जनाइएको छ। नेपाली मौलिक संस्कृति, परम्परा, स्वास्थ्य र प्रकृतिको सन्तुलन झल्काउने यस्ता पर्वले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ।
नगर प्रमुख सुरथ पुरीद्वारा हस्ताक्षरित सन्देशमा निजगढ नगरपालिकामा रहेका सबै जातजाति, भाषा, धर्म तथा संस्कृतिका समुदायहरूबीच आपसी सद्भाव र एकतालाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।


